रत्ननगर, चितवन, २४ असोज ।
रत्ननगर नगरपालिका वडा नं. २ टाँडी बजारमा मुख्य कार्यालय रहेको यूनिक बचत तथा ऋण सहकारी संस्था लि. को ११औं वार्षिक साधारण सभा आज रत्ननगरमा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा पत्रकार शिशिर सिंखडालाई सम्मान गरिएको छ ।
पत्रकारिताको माध्यमबाट सहकारी क्षेत्रको प्रवद्र्धन एवम् विकासमा पु¥याएको योगदानको मूल्याङ्कन गर्दै कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन, संस्थाका अध्यक्ष हरिभक्त घिमिरे र संस्थाका कार्यकारी अधिकृत मेघनाथ लामिछानेले संयुक्त रुपमा पत्रकार सिंखडालाई सम्मान गरेका हुन् । पत्रकार सिंखडा विगत २० वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पारदर्शी दैनिक, नारायणी अनलाइन, आभाष टेलिभिजन लगायत विभिन्न सञ्चारसँग सम्बद्ध संस्थाहरुमा कार्यरत छन् । सिंखडा नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद् एवम् प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत हुन् ।
सो सहकारीको ११औं वार्षिक साधारण सभाको अवसरमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी, शेयर सदस्यका छोराछोरीहरु मध्ये स्वेता गिरी, सुरभी चपाई, आभाष श्रेष्ठ र नितेश न्यौपानेलाई पनि सम्मान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी रञ्जना बस्ताकोटीलाई पनि सम्मान गरिएको छ । संस्थाका ज्येष्ठ शेयर सदस्यहरु, उत्कृष्ट बचतकर्ता, असल ऋणी, सदस्य विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्ने शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो ।